धनगढीमा कुहिएको चामल खरिदमा संलग्न कर्मचारी उपमहानगरपालिकाबाट पुरस्कृत !

कन्चन आवाज
२०७७ साउन ६, रोज ०३

धनगढीः धनगढी उप–महानगरपालिकाले कुहिएको चामल खरिद प्रक्रियामा संलग्न भएर विवादमा तानिएका कर्मचारीलाई पुरस्कृत गरेको छ। गत असारमा बसेको नगरसभाको बैठकबाट निर्णय गर्दै खरिद प्रक्रियामा संलग्न भएर विवादमा आएका प्रमुख प्रशासकिय अधिृकत नारायणप्रसाद सापकोटा सहितका कर्मचारीलाई पुरस्कृत गरेको हो।

यस्तै उप–महानगरपालिका प्रशासन प्रमुख नारायणप्रसाद शर्मा र वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझालाई समेत पुरस्कृत गरेको छ। उनीहरुलाई वर्षभरी उत्कृष्ठ काम गरेवापत एक महिनाको तलब बराबर हुन आउने प्रोत्साहन भत्ता दिदै पुरस्कृत गरिएको उप–महानगरपालिकाले जनाएको छ।

उनीहरु तीनै जना लकडाउनबाट प्रभावित भएकाहरुलाई वितरण गर्न दिईएको राहत सामाग्री खरिद प्रक्रियामा संलग्न भएका थिए। राहतमा वितरण गरिएको चामल कुहिएको भेटिएपछि कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा ठेक्का दिईएको आरोप लागेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियामै मिलोमतोको आशंकामा उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ।

प्रारम्भीक अनुसन्धानका क्रममा कैफियत देखिएपछि विस्तृत अनुसन्धान गर्नुपर्ने ठहर गर्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर छानविन गरिरहेको छ। अख्तियारले दोषी ठहर गरेमा खरिद प्रक्रियामा संलग्न कर्मचारी समेत कारवाहीको दायरामा आउने भएपनि उप–महानगरपालिकाले उनीहरुलाई पुरस्कृत गरेको हो। उप–महानगरपालिकाले त्यसअघि भएको कार्यपालिका बैठकमा चामल खरिद प्रक्रियामा संलग्न कर्मचारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। तर उनीहरुलाई अहिलेसम्म स्पष्टिकरण सोधिएको छैन्।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने वार्षिक मूल्याङकनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएकाले चामल प्रकरणलाई मात्र जोडेर हेर्न नहुने बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उक्त विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै दोषी वा निर्दोष भन्न नसकिने भएकाले यसलाई अन्यथा लिन नहुने उनको भनाई छ।

यस्तै उप–महानगरपालिकाले वर्षभरी उत्कृष्ट काम गरेको भन्दै अन्य ६ जना कर्मचारीलाई पनि पुरस्कृत गरेको छ। यसरी पुरस्कृत हुनेमा आलेप अधिकृत लेखनाथ ओझा, इन्जिनीयर द्धिजराज भट्ट, कृषि शाखा प्रमुख लोकराज उपाध्याय, ओभरसियर निर्मल देउवा, आईटी अफिसर सुएस चन्द र लक्ष्मी जोशी रहेका छन्।

तपाइको प्रतिक्रिया