सामाजिक दूरी कायम गरेर रातो मछिन्द्रनाथको रथ तानिँदै, स्थानीयले टाढैबाट दर्शन गर्ने

कन्चन आवााज
२०७७ भाद्र २१ गते,रोज ०१

काठमाडौँ – रातो मछिन्द्रनाथको रथलाई सामाजिक दूरी कायम गरेर तानिने भएको छ। आइतबार बेलुका कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै पुल्चोकमा रहेको रथलाई झण्डै ३० मिटर परसम्म लग्न लागिएको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तराम महर्जनले बताए।

‘आइतबार अपरान्ह ३ बजेपछि जम्मा हुन्छौँ होला’ महर्जनले भने, ‘हामी जम्मा १२० जना जति जम्मा हुन्छौँ। रथ तान्नेहरु पञ्जा लगाएर, माक्स लगाएर, हातमा ग्लोब्स लगाएर स्यानिटाइजर लगाउने छन् र सामाजिक दूरी कायम गर्नेछन्।’

अवस्था सामान्य हुँदा पाटन शहर पूरै घुमाइन्थ्यो तर यो वर्ष रथ जिर्ण रहेको र कोरोना भाइरस महामारी रहेको हुनाले पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि लगेर जात्रा बिसर्जन गरिँदैछ।

जात्रालाई बिसर्जन गरेपछि रथलाई बुंगमति लैजाने चलन छ। ‘जात्रा बिसर्जनपछि महत्वपूर्ण पूजा हुन्छ, त्यसपछि रातो मछिन्द्रनाथलाई बुंगमति लैजाने साइत जोशी ज्यूले हेर्नुहुन्छ।’ महर्जन भन्छन्, ‘हामी २६ गतेसम्म बुंगमति पुर्‍याउने योजनामा छौँ।’

जात्रामा स्थानीय सहभागी नगराइने

ज्यापु समाजले स्थानीयहरुलाई यो वर्ष महामारीको कारण जात्रामा सहभागी नहुन अनुरोध गरेको छ। तर बिहीबार एक्कासी मछिन्द्रनाथको रथ तान्न स्थानीय पुगेका थिए।

कोरोना भाइरस महामारीको समयमा मान्छे जम्मा हुन नहुने भन्दै प्रशासनले रोक्न खोज्दा स्थानीय र प्रहरीबिच झडप भएको थियो। यही क्रममा केही स्थानीय, प्रहरी र केही पत्रकार समेत घाइते भएका थिए।

दिनभर ढुंगामूढा गरिएको पाटन क्षेत्रको स्थिति नियन्त्रणमा लिन प्रहरीले सकिरहेको थिएन। त्यही बेलामा ज्यापु समाजले सेता झण्डा फहराउँदै स्थानीयको आक्रोशलाई शान्त पारेको थियो ।

आइतबारको रथ तान्ने कार्यक्रममा स्थानीयहरु सहभागी नगराइने भएको छ। रथ तानिने क्षेत्रको केही चोकमा स्थानीयले भगवानलाई चढाउन ल्याएको फल, प्रसाद ज्यापु समाजका स्वयं सेवकहरुले चढाइदिने व्यस्था रहेको ज्यापु समाजले जनाएको छ।

तपाइको प्रतिक्रिया