बाँकेमा गत वर्षको तुलनामा धानको उत्पादन २५ प्रतिशतले वृद्धि

कुलेन्द्र बि.क. नेपालगन्ज
२०७७ कार्तिक ०४ गते,रोज ०३
बाँके बर्दिया धान उत्पादनको लागि पकेट क्षेत्रको रुपमा रहेक छ । यस क्षेत्रको मुख्य बालीको रुपमा धान खेतीलाई लिन सकिन्छ । यस वर्ष बाँके जिल्लामा गत वर्षको तुलनामा धानको उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइ सुविधा बढेपछि समयमै रोपाइँ सकिएको र उन्नत जातको बीउ पनि बढी प्रयोग गरिएकाले गत वर्षभन्दा धेरै बढी उत्पादन भएको हो । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार गत वर्ष प्रतिहेक्टर ३।४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष भने ४।४ मेट्रिक टन उत्पादन भएको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको जनाउँदै उहाँले यस वर्ष समयमै वर्षा भएको र सिक्टा सिँचाइ आयोजनाले करिब १५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याएकाले उत्पादन वृद्धि भएको बताउनुभयो । गत वर्ष बाँकेमा एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष एक लाख ६० हजार मेट्रिक टन उत्पादन भएको छ । यो वर्ष सबै कुरा अनुकूल भएपछि उत्पादन उल्लेख्य मात्रामा बढेको हुँदा जिल्लाका अधिकांश किसान खुसी देखिएका छन् ।
तपाइको प्रतिक्रिया