कोरोना भ्याक्सिनको सफलताले विश्व बजारमा खुसियाली,,नेपालमा आउन कति दिन लाग्ला-कन्चन आवाज

अमेरिकामा निर्माणाधीन २ खोप अन्तिम चरणमा पुगेको खबर आइरहेका बेला आशाको सञ्चार भएको हो।

खोप विकास गरेको दाबी भने सबैभन्दा पहिला रुसले गरेको हो, तर रुसले विकास गरेको खोपले आजसम्म मान्यता पाउन सकेको छैन ।

अन्य खोपले पनि विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउन बाँकी छ, तर अमेरिका, जर्मनी, अक्सफोर्ड विश्वविद्यालय, चीन लगायतका देशका खोपमा विश्व बजारको आँखा छ ।

नेपालको छिमेकी भारतमा पनि अमेरिकी खोप कम्पनीको उत्पादन शाखा भएकाले नेपालमा खोप छिटो आउनसक्ने विज्ञहरूले बताइरहेका छन् भने उत्तरको छिमेकी चीनले ४/५ वटा देशमा कोरोनाको खोप परीक्षण गरिरहेको छ ।

नेपालमा सरकारले सरकारमार्फत (जीटुजी प्रक्रियाबाट) खोप खरिदका लागि कूटनीतिक पहल गरेको खण्डमा नेपालमा डिसेम्बर अर्थात् पुस-माघसम्ममा खोप आउनसक्ने विज्ञहरू बताउँछन् ।

खोपलाई भण्डारण गर्ने भौतिक पूर्वाधार नहुँदा नेपालमा खोपको भण्डारण र ढुवानीमा समस्या देखिने विज्ञहरूको बुझाइ छ ।

अर्कातर्फ कोरोना परीक्षण गर्ने पीसीआर किट र मशिन ल्याउँदा भएको आर्थिक अनियमितताले गर्दा आगामी दिनमा खोपमा पनि त्यस्तै खालका समस्या देखिनेमा विज्ञहरू चिन्तित देखिन्छन् ।

पछिल्लो समय अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले आफूले उत्पादन गरेको खोप परीक्षण गर्दा ९४.५ प्रतिशत सफल देखिएको दाबी गरेको छ ।

यस्तै अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी मिलेर निर्माण गरेको खोप पनि ९० प्रतिशत सफल भएको दाबी निर्माण कम्पनीले गरेको छ ।

उक्त खोप भने यथास्थितिमा नेपालमा ल्याउन असम्भवप्रायः छ । सो खोप माइनस ८० डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ, नेपालमा भने माइनस २ देखि माइनस ८ डिग्रीसम्ममा भण्डारण गर्ने पूर्वाधार मात्र रहेको विज्ञहरू बताउँछन् ।

चीनको खोप नेपालमा प्रभावकारी हुनसक्छः डा रविन्द्र पाण्डे

विश्व बजारमा अहिले फाइजर र बायोन्टेक भन्ने अमेरिकी र जर्मन कम्पनीको जोइन्ट भेन्चरमा निमार्ण भइरहेको खोप ९० प्रतिशत प्रभावकारी भनिएको छ । त्यसमा समस्या के छ भने त्यसलाई भण्डारण गर्दा, ढुवानी गर्दा र मानिसको शरीरमा लगाउँदासम्म माइनस ८० डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ त्यो धेरैजसो देशमा असम्भव हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताए ।

डा. पाण्डेका अनुसार नेपालमा त्यसको सम्भावना निकै कम छ किनकी त्यो तहको भण्डारण गर्ने क्षमताका भौतिक पूर्वाधारहरू छैनन् । नेपालमा सामान्यतया माइनस २ देखि माइनस ८ डिग्री तापक्रममा भण्डारण गरिन्छ ।

अर्को हालसालै अमेरिकाको मोर्डेना कम्पनीले आफूले विकास गरेको खोप ९४.५ प्रतिशत सफल भएको दाबी गरेको छ । त्यो खोप भने नेपालमा ल्याउन अलि सहज देखिन्छ । त्यो खोप माइनस २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्छ । अहिलेको अवस्थामा नेपालमा भएका भौतिक पूर्वाधारलाई अलिकति खर्च गरेर अपग्रेड गरेको खण्डमा त्यो खोप ल्याउन सकिने डा. पाण्डेले बताए ।

रुसको खोपले पनि ९२ प्रतिशत काम गर्ने दाबी गरिएको छ तर वैज्ञानिक हिसाबले प्रमाणित गर्न भने सकेको देखिँदैन ।

यता चिनियाँ कम्पनीले निर्माण गरेका खोप पनि परीक्षणको अन्तिम चरणमा छन् ।

डा. पाण्डेका अनुसार चीनको खोप धेरै चिसोमा भण्डारण गर्नु नपर्ने भएकाले नेपालमा प्रभावकारी हुनसक्छ । अर्कातर्फ अक्सफोर्ड विश्वविद्यालयको खोपको उत्पादन भारतमा पनि हुने भएकाले त्यो नेपालमा आउने सबैभन्दा पहिलो खोप हुनसक्छ ।

भूराजनीतिले गर्दा पनि छिटो आउनसक्छ खोप

नेपाल भारत र चीनको बीचमा भएकाले पनि नेपालमा छिटो खोप आउनसक्छ । दक्षिणको भारत र उत्तरको चीनमा खोपका उत्पादन  भइरहेको अवस्थामा सरकारले राम्रो भूमिका खेलेको खण्डमा खोप छिटो आउनसक्ने विज्ञहरू बताउँछन्  ।

‘नेपालमा खोप छिटो आउनसक्ने देखिन्छ,’ डा पाण्डेले लोकान्तरसँग भने, ‘यसका लागि नेपालले राम्रोसँग कूटनीतिक सम्बन्ध प्रयोग गरेको खण्डमा विश्वका अन्य देशभन्दा छिटो खोप आउन सक्ने सम्भावना देखिन्छ ।’
खोपहरू भण्डारणका लागि पूर्वाधार निर्माणमा अहिलेदेखि नै ध्यान दिनुपर्ने उनले बताए ।

अहिलेको अवस्थामा नेपालमा खोप भण्डारण गर्ने संरचना छैन । नेपालले भौतिक संरचना निमार्णका लागि आजैदेखि काम शुरू गर्नुपर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् ।

‘नेपालले आजैदेखि कोरोनाको खोपका लागि भौतिक पूर्वाधारको विकास गर्नुपर्छ,’ जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षितले लोकान्तरसँग भने, ‘अर्को कुरा खोप ढुवानी गर्नका लागि आवश्यक पर्ने यातायात, सामग्री लगायतका सामानहरूको पनि विकास गर्नुपर्ने देखिन्छ ।’

भौगोलिक हिसाबले कठिनाइ भएको नेपालमा काठमाडौं उपत्यकाबाट बाहिर खोप ढुवानी गर्नका लागि आवश्यक पर्ने पूर्वाधारहरूको विकास अर्थात खोपलाई आवश्यक पर्ने फ्रिज, आइस बक्सको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

अहिलेको अवस्था खोप २ पटक लगाउनु पर्ने हिसाबले विकास भएका छन् । शुरूमा लगाएको ३ हप्तामा दोस्रो लगाउने भएका कारणले गर्दा त्यसलाई भण्डारण गर्ने पूर्वाधारको विकास गर्नुपर्नेमा पाण्डे र दीक्षित दुवैले जोड दिए ।

यसभन्दा अगाडि बच्चाका लागि, वयस्कका लागि, वृद्धका लागि, सुत्केरीका लागि खोप छुट्टाछुट्टै बन्ने गर्दथ्यो तर अहिले कोरोनाको खोप सबैका लागि एउटै बनेको छ । तर सबैलाई काम गर्छ कि गर्दैन भन्ने पुष्टि भइसकेको छैन् ।

विश्व बजारमा ९० प्रतिशत, ९२ प्रतिशत काम गर्ने भनिएता पनि अहिलेसम्मको अवस्थालाई हेर्दा सामान्यतया ७० प्रतिशत काम गर्ने भएकाले आगामी दिनमा पनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने डा. पाण्डेले बताए
विश्व बजारमै नयाँ खोप भएका कारणले गर्दा सरकारले खोप खरिद गर्दा हरेक कुरालाई ध्यानमा राखेर किन्नुपर्ने देखिन्छ तर नेपालमा प्रभावकारिता भन्दा पनि फाइदा हेर्ने चलन भएकाले चुनौतीहरू छन् ।

आर्थिक फाइदा हुने खालका कम्पनीसँग सम्झौता गरेर कोरोनाको खोप ल्याएको खण्डमा यसको प्रभावकारिता भन्दा पनि हिजोका दिनमा जस्तै अस्तव्यस्त हुने चिन्ता पनि उत्तिकै छ । सरकारले विगतका दिनमा यसबाट पाठ सिकेर आगामी दिनमा कदम चाल्नु पर्ने डा. पाण्डेले बताए ।

‘चुनौतीका रूपमा भौतिक पूर्वाधार हो यदि नेपालमा पूर्वाधार निर्माण नगरी खोप ल्याएको खण्डमा त्यसको महत्त्व रहँदैन,’।

नेपालमा खोप आउन समय लाग्दैन

विश्व बजारमा आउने कोरोनाको खोप चीनमा आफ्नै उत्पादन र भारतमा पश्चिमा मुलुकमा निर्माणाधीन खोप कम्पनीहरूले उत्पादन गर्ने भएकाले नेपालमा खोप आउन समय नलाग्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्  ।

तर नेपालमा आइसकेपछि त्यसलाई पहिलो चरणमा वितरण गर्न भने समस्या देखिन सक्छ । पहिलो चरणमा अग्रपंतिमा खटिने प्रहरी, स्वास्थकर्मीलाई खोप दिनुपर्ने मत जनस्वास्थ्य विज्ञहरूको छ ।

‘शुरूमा नेपालमा कोरोना भाइरसको खोप २० लाखदेखि ३० लाख डोज आउने भएकाले त्यसलाई व्यवस्थापन गर्न कठिनाइ हुनसक्छ, जनस्वास्थ्य विज्ञ डा पाण्डेले भने, ‘त्यसका लागि नेपालले पहिले नै योजना बनाउनु पर्छ ।’

डा पाण्डेको भनाइमा सहमत छन् जनस्वास्थ्य वैज्ञानिक डा. दिक्षित पनि, ‘नेपालले सरकार टु सरकार माध्यमबाट खोप ल्याएमा पहिलो चरणमा कसलाई दिने भन्ने निर्धारण गर्नुपर्छ, यदि त्यो नभएको खण्डमा पीसीआर परीक्षण जस्तै अस्तव्यस्त हुन्छ ।’

यदि सरकारले कडा मापदण्ड नबनाएर खोप वितरण गरेको खण्डमा रेम्डिसिभिर ब्ल्याकमा किने जस्तै जनताले खोप किन्नुपर्ने हुनसक्छ, अथवा राजनीतिक पहुँच भएका मानिसहरूले मात्रै खोप पाउन सक्ने सम्भावना हुने दुवै विज्ञले बताए ।

‘सरकारले कडा नियम बनाएर खोप वितरण गर्नुपर्छ होइन भने खोपकै लागि ठूलो झगडा हुनसक्छ,’ डा. दीक्षितले भने ।

‘राजनीतिक पहुँच हुने व्यक्तिले मात्र खोप पाउने, जसले लगाउनुपर्ने हो उसले नपाउने खतरा हुनसक्छ,’ डा पाण्डेले  भने ।

‘पुसमा नेपालमा चीनको खोप आउनसक्छ’

चीनको खोप नेपालमा सबैभन्दा पहिला डिसेम्बरमा आउनसक्ने देखिन्छ । अहिलेको भूराजनीतिक अवस्थालाई हेर्दा चीनले यूरोप अमेरिकालाई खोप बेच्ने देखिँदैन । उसले खोप पहिला नेपाल, भारत लगायतका देशहरूमा बेच्ने भएकाले पनि सरकारले कूटनीतिक पहल गरेको खण्डमा नेपालमा पुससम्ममा खोप आइपुग्नसक्ने डा. पाण्डेले बताए ।

‘चीनबाट नेपाल सबैभन्दा नजिक छ । सरकारसँगको सम्बन्ध पनि राम्रै भएकाले जीटुजीमार्फत छिटो खोप ल्याउन सकिन्छ,’ डा. दीक्षितले कन्चन आवाज सङ्ग भने ।

धेरै जनसंख्या भएकाले विश्वको आँखा भारतमा छ त्यसै कारणले गर्दा पनि नेपालमा खोप छिटो ल्याउन सकिने सम्भावना हुन्छ ।

सरकारले कोरोनाभाइरसविरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा अध्ययन गरी सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य सेवा विभागका तत्कालीन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा. श्यामराज उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. गरीबदास ठाकुर र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीसहित ५ सदस्यीय कार्यदलले विश्वमा अहिले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोपहरूको बारेमा अध्ययन गर्नेछ ।

कार्यदलले नेपालले कोरोनाविरुद्ध निर्माण गरिएका खोपको परीक्षणमा कसरी भाग लिन सक्छ र कसरी खोपहरू प्राप्त गर्न सक्छ भन्ने बारेमा सुझाव दिने कार्यादेश पाएको छ।

तपाइको प्रतिक्रिया