भारत जान लागेका सयौं नेपाली त्रिनगर नाकामा अलपत्र,भोकभोकै बस्न बाध्य

  • कन्चन आवाज
  •   २०७७ असोज १३ गते,रोज ०३

 सोमवार सम्म पनि त्रिनगर–गौरीफन्टा नाका भएर भारत जानेहरुको भीड थियो। भारत जानका लागि सयौं नेपाली चर्को घाममा लाईनमा देखिन्थे।

तर मंगलबार दिउसो १२ बजे त्रिनगर–गौरीफन्टा नाका पुग्दा विगतको भन्दा फरक दृश्य देख्न सकिन्थ्यो। रोजगारीको लागि भारत जानेहरुको संख्या त दुई/चार दिन अगाडिकै जती थियो तर भारत जानका लागि लाईनमा लाग्नेको संख्या निकै कम थियो। कैलाली, कञ्चनपुरसहित सुदूर पहाडका विभिन्न जिल्लाहरुबाट भारत जानका लागि त्रिनगर–गौरीफन्टा नाका पुगेका अधिकासं प्रदेशबासी रुखको छायामा बसेका थिए भने सबैको अनुहार हेर्दा निराशा थियो।

‘भारत जानका लागि दुई दिन लगाएर गाउँबाट धनगढी पुगियो, होटलमा बस्नु पु¥यो गाडी भाडा मात्रै बोकेर आएको थिए,’ बाजुराको छेड्दहबाट भारत जानका लागि त्रिनगर–गौरीफन्टा नाका पुगेका हर्क धामीले भने, ‘आधार कार्ड नभएकाहरुलाई भारत जान नदिने भन्दैछन्। हामी दशगजामै अलपत्र छौं।’

यसअघि बिचौलीयाहरुले रकम लिएर कुनै कागजात नभएपनि नेपालीलाई भारत पठाउँदै आएका थिए। बिचौलीयालाई रकम दिन नसक्नेहरु भारत जानबाट बञ्चित हुन थालेका हुन्। आधार कार्ड, कम्पनीले बोलाएको आधिकारी पत्र भएका व्यक्ति र उपचार गर्न मात्रै भारत जान दिइएको छ। त्यस्ता कागजात नभएका प्रदेशवासी भने नाकामै अलपत्र छन्।

‘हाम्रो भन्दा अगाडि भारत गएकाहरु मध्ये धेरैसंग आधार कार्ड थिएन्,’ रोजगारी गर्न भारत जानका लागि गौरीफन्टा नाका पुगेका डोटीको लडागडाका राजेश लुहारले भने, ‘नागरिकताको भरमा भारत जान पाईन्छ भनेर आएका हौं। अब जान नदिने भएपछि हामी अलपत्र परेका छौं।’

सुदूर पहाडको विगट गाउँबाट गाडी भाडा मात्रै बोकेर आएहरुलाई झन समस्या छ। सोमवार सम्म मात्रै गोरीफन्टा नाका क्षेत्रका विभिन्न स्थानमा अवैधानीक रुपमा टिकट काउन्टर राखिएको थियो। विचौलियाहरुले भारतका विभिन्न सहर पुगाईदिने भन्दै चर्को भाडा लिने तथा भारत प्रवेश गर्नका लागि पास समेत बनाउने गरेका थिए।

त्रिनगर–गौरीफन्टा नाकाको व्यवस्थापन गरिरहेको कञ्चनपुर प्रशासनले भने आधार कार्ड र कम्पनीले कामदार मागेको आधिकारी पत्र देखाएपछि मात्रै रोजगारीका लागि भारत जान दिएको जनाएको छ। उपचार गर्न भारत जानेहरुका लागि भने स्थानीय प्रशासनले अनुमती दिने गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सूचना अधिकारी कृष्णानन्द जोशीले बताए।

तपाइको प्रतिक्रिया