कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार नजिक

कन्चन खवर संवाददाता
२०७७ साउन ११,रोज ०१
धनगढीः सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको कैलालीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ।

कैलालीमा प्रदेशमै सबैभन्दा बढि नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

कैलालीमा सबैभन्दा बढि चार जना संक्रमितको मृत्यु भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ। कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ९ सय बढि घर र स्थानीय तहको क्वारेन्टिनमा छन्।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ।

प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत छ दिनदेखि खाली रहेको छ।

तपाइको प्रतिक्रिया