सुदुरपस्चिममा भारत बाट भित्रीनेको संख्या घटे सङ्गै क्वारेटिन पनि रित्तिदै

सुदूरपश्चिममा रित्तिदै क्वारेन्टिन

खवर संवाददाता
२०७७ साउन १२,रोज ०२

धनगढी : भारतबाट फर्किने क्रम घटेसंगै सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका क्वारेन्टिन रित्तिन थालेका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयले आईतवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा चार हजार दुई सय ८७ जना मात्रै क्वारेन्टिनमा रहेका छन्। जेठ र असार महिनामा मात्रै सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनबाट झण्डै डेढ लाख नागरिकलाई घर पठाईएको थियो।

अहिले सबैभन्दा बढि डोटीमा एक हजार चार सय दुई जना क्वारेन्टिनमा रहेका छन्। बझाङमा ६ सय ६९, अछाममा ६ सय १८, कञ्चनपुरका ५ सय ८१ र कैलालीमा तीन सय ३७ जनालाई क्वारेन्टिनमा राखिएको छ। बैतडीमा दुई सय ८९, दार्चुलामा दुई सय ८, डडेल्धुरामा एक सय १० र बाजुरामा ६८ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ।

निर्देशनालयका अनुसार सुदूरपश्चिममा ५६ हजार बढि अटाउने एक हजार चार सय ३१ वटा क्वारेन्टिन बनाईएको छ। क्वारेन्टिन खाली भएपछि अहिले अधिकासं क्वारेन्टिनमा संक्रमितलाई राखिएको छ।

यस्तै स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएकाहरुलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ। आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा नपठाइ संस्थागत क्वारेन्टिनमा राख्न भनेको छ।

निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई संस्थागत क्वारेन्टिनमा नराखी सिधै होम क्वारेनिटनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो नगर्न आग्रह गरेको छ। होम क्वारेन्टिनबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।

तसर्थ स्थानीय तहमा भित्रिएकाहरुलाई क्वारेन्टिनमा राखी छैठौ दिनमा सबैको स्वाब संकलन गरेर कोरोना जाँचका लागि धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको उनले बताए।

यस्तै उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आए अनिवार्य १४ दिन क्वारेन्टिन अथवा आइसोलेनमा बसाउने र नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टिनमा बसाउने व्यवस्था मिलाउन समेत स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहकै क्वारेन्टिनमा राखिएको जानकारी दिए। उनका अनुसार विगतमा स्थापना गरिएका क्वारेन्टिनलाई नै अहिले आइसोलेसनमा परिणत गरिएको हो।

तपाइको प्रतिक्रिया