अछाम को प्रेम बिबाहको तितो कथा,मलाई यति सम्म गरियो-पिडक

कन्चन आवाज,अछाम

२०७७ भाद्र २१ गते,रोज ०१

अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षका प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट भएपछि प्रेमिका केशरी रावलले आत्महत्या गरेको घटना अहिले चर्चामा छ ।

घटनाबारे प्रकाश टमट्टाको भनाइ जस्ताको त्यस्तैः
केशरि र मेरो सम्बन्ध ६ कक्षा पढ्नेदेखि नै थियो । हामी एकदमै नजिक थियौ । हामिलाई भदौ ११ गते केशरीका आमा बाबुले हामीलाई भेटे । म त्यहा बाट भागे । उसका आमावुवा वुढा थिए । म भागेर तल्लो घरको घर लगाउने काम थियो, म त्यहाँ काठ ल्याउन गए । मैले मेरो दुईजना साथिलाई गाउँको अवस्था वुझ्न पठाए ।

उनिहरुले मान्छे टन्न भेला भएको खवर सुनाए । अनि मैले त्यस्तो अवस्थामा हातपात नगर्लान भनेर सोचेको थिए । म त्यहा गए तर, तिनिहरु लठ्ठी ल्याएर आईहाले । अनि त्यसपछि म भागिहाले ।

तिनिहरुले मलाई भेट्न सक्दैन थिए । तर म केशरीलाई मारिदिन्छन कि भनेर रोकिए । मलाई समातेपछि पहिले बासको लठ्ठीले हिर्काए ।

त्यसपछि घंगारुको काडासहितको लठ्ठीले पिटे । पाईपले समेत पिट्न भ्याए । मलाई नपिट्नुस, यदिँ मेरो गल्ति भएछ भने म सजाए भोग्छु केशरीलाई एकछिन भए पनि बोलाइदिनुहोस भनेर मैले भने ।

तर उनिहरुले बोलाएनन् । त साले डुम, कामी, हाम्रो मल वोक्ने मान्छे, रावलको घरमा पसेर केशरीसगँ बस्ने शाहस कसरी गरिस भने । अनि मेरो कपाल समातेर घाटीमा हसिया समेत राखे । सवैले त्यसो नगर भनेपछि मलाई घरमा ल्याए । घरमा ल्याएर पनि धेरै पिटे । न केशरिलाई सोधे, न मलाई वोल्ने मौका दिए ।

हाम्रो प्रेम सम्बन्ध वसेको २–३ वर्ष भयो । छाउपडीको घरमा वस्ने मान्छे, त जस्ता डुम त कति मार्याै कती कुट्यौ । भन्दै अझै पिटियो । मलाई धेरै चोट लागेको छ । मलम र औषधी पनि सगै छ । मलम लगाउँछु । सुत्दाखेरी श्वास समेत फेर्न गा¥हो हुन्छ । मलाई होस हुदाँसम्म । मलाई पिट्ने ५ जना थिए । वेहोस भएपछि थाहा भएन ।

वडाअध्यक्ष चक्र रावलको भनाइ यस्तो छः
उहाहरु दुवैको घर करिव ५ मिनेटको दुरीमा मात्र फरक छ । प्रेमसम्वन्धका कारण ६–७ कक्षादेखि नै केटीको घरमा वस्दै आएको सुन्न पाईयो । यसको कुनै संकेत देखिदैन । गाउँका आफ्नै साथिहरु आएपछि डराएर भाग्दा काडाको झारीतिर पस्दा काडाले चिथोरेको छ । अलीकती चोट समेत लागेको छ ।

घरभित्र किन पसेको भनेर सोध्दा स्वयम केटा पक्षका आफन्तले पैसा सापटी माग्न गएको वताएका छन् । अहिले मिडियामा सवै कुरा बंग्याएर प्रचार गरिएको छ । विवाह भएको भए पनि अन्तरजातीय सम्बन्धको कुरा उठेको पनि मान्न सकिन्थ्यो, त्यो पनि छैन ।

अहिलेसम्म म पनि घटनास्थलमा गएको छैन । केशरीले आत्महत्या गरेपछि डराएर वोलेको देखिन्छ । केशरीका आमाबाबुका अनुसार केशरी सन्की थिई । कहिले कालापानी त कहिले दिदीको घर जान्थी । आमावुवालाई समेत गाली गर्थी । तर आत्महत्याको कारण भने पत्ता लागेको छैन । प्रेम सम्बन्धको कारण भए त किटानी मुद्दा हुन्थ्यो । केही पनि तथ्य नभएपछि पोस्टमार्टम गरेर दाहासंस्कार गरिएको छ । अन्तरजातीयको विषयमा प्रचार गरिएको कुरा सरासर झुट हो ।

वास्तविक घटनाबारे आफूलाई जानकारी नगराइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नाउव उपरिक्षक, डिएसपी लालबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार प्रहरीलाई खबर गर्दा झुन्डिएको अवस्थामा शव फेला परेको र मुचुल्का गरिदिन आग्रह गरिएको थियो । प्रहरीले पनि सोहीअनुसार काम गरेको र घटनाबारे कुनै उजुरी पनि नपरेको उहाँले बताउनुभयो । ‘हामीलाई वास्तविक घटनाका बारेमा केही बताइएको थिएन । यसबारे अन्य गाउँलेले पनि केही खबर गरेनन् । हामीलाई थाहा नै भएन । मृतकका दाइले बहिनीको मानसिक अवस्था ठिक थिएन भनेर उजुरी दिएपछि हामीले पोस्टमार्टमका लागि अनुमति दियौं ।’ डिएसपी थापाले भन्नुभयो ।

१६ गते मात्र अन्तरजातीय प्रेम सम्बन्धका कारण घटना भएको हुन सक्ने हल्ला प्रहरीले सुनेको जनाइएको छ । यसअघि थाहा नभएको र यस विषयमा उजुरीसमेत नपरेकाले मिडियामा आए जस्तो घटना भएमा दोषीलाई कानुन अनुसार कारवाही गरिने र दोषि कुनै पनि हालतमा नउम्किने डिएसपी थापाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया