काठ तस्कर सङ्ग झडप ,प्रहरी सहित ५ जना घाइते

  • कन्चन आवाज

काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०÷७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

उक्त समूहको आक्रमणमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए । दुबैको महेन्द्रनगर हेल्थकेयरमा उपचार भईरहेको उनले बताए ।

उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरीको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ ।

स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।

तपाइको प्रतिक्रिया