सीमामा भारत छिर्ने नेपालीको लर्को : न दशैंले रोक्यो, न कोरोनाले छेक्यो

सीमा नाका भएर लाहुरेहरू पोको–पुन्तरो र लालाबालासहित लस्करै स्वदेश भित्रिन्थे । तर समय र परिस्थिति ठीक उल्टो भएको छ । यतिबेला भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जानेको संख्या नै बढि रहेको छ।

असोज १८ गते कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–१ का प्रयागराज उपाध्याय निधारमा दशैंको जस्तै रातो टीका टल्काउँदै दशैंको मुखैमा गौरीफन्टा सीमा नाका हुँदै भारत पसे । कोरोना महामारीले जारी लकडाउनपछि गत चैतको ८ गते नेपाल फर्केका उनी दशैंको मुखैमा भारतको दिल्ली फर्केका हुन् । घरको खर्च चलाउन धौधो भएपछि दशैंको मुखैमा भारत फर्किनुपरेको बाध्यता उनले सुनाए ।

कञ्चनपुर जिल्लाको बेलडाँडीकै गोरखराम जोशी पनि गौरीफन्टा नाका भएर भारत पसे । लकडाउनपछि नेपालमै जीविकोपार्जनको लागि व्यवसाय गर्ने वातावरण नबनेपछि भारतको जम्मुकस्मिर जान लागेको उनले बताए

उनी भन्छन्, ‘तरकारी खेती थालें, लगातारको वर्षातले सखाप भयो । ब्रोइलर पालन गरियो, प्रतिकिलो १५० रुपैयाँ मूल्य भयो । पर्ता आएन । पहिले पनि इन्डियामै काम गर्थें, अब उतै जान लागेको छु । पोहोर साल दशैं मनाएकै हो । यो साल त्यसै छ ।’

यतिबेला उपाध्याय र जोशी जस्तै दैनिक २ हजारको हाराहारीमा नेपालीहरू कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत गइरहेका छन् । यतिबेला कोरोना महामारीले प्रभावित हुने देशहरूमध्ये छिमेकी राष्ट्र भारत दोस्रो स्थानमा पर्दछ । जहाँ ६५ लाख बढी संक्रमित छन् भने १ लाख बढीले ज्यान गुमाइसकेका छन् । तर भारतबाट फर्किएका नेपालीहरू जोखिम मोलेर भएपनि पुनः रोजगारीको लागि भारत फर्किन थालेका हुन् ।

लामो लकडाउनले बेरोजगार भएका उनीहरूलाई हाल न त कोरोना महामारीको जोखिमले रोक्न सकेको छ, न त नजिकिँदै गरेको बडादशैंको माहोलले । उनीहरूको अब एउटै र अन्तिम धोको पेट पाल्नु हो, घर खर्चको जोहो गर्नु हो ।

कैलालीको भजनी नगरपालिका–२ रजवालाका गगनसिंह कोलीले भने, ‘आर्थिक स्रोत केही छैन । घरमा बालबच्चा छन् । उनीहरूको भोकाएको अनुहार हेर्न सकिन्न । जस्तोसुकै जोखिम भए पनि काम त गर्नै पर्‍यो ।’

देशको पश्चिमी गड्डाचौकी नाका र त्रिनगर नाका हुँदै दैनिक हजारौंको संख्यामा यतिबेला रोजगारीको लागि भारत गइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको सरकारी तथा गैरसरकारी संस्थाको दाबी छ । लकडाउन भएपछि भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला तथा कर्णाली प्रदेश आएका नेपालीहरू यतिबेला कञ्चनपुरको त्रिनगर (गौरीफन्टा) नाका र गड्डाचौकी नाका भएर पुनः भारततिर फर्किरहेका छन् ।

असोज महिनाका १६ दिनमा मात्रै गौरीफन्टा नाका हुँदै १६ हजार ४९६ नेपालीहरू भारत गएका छन् । असोज १ गते ३१८ जना नेपाली यो नाका हुँदै भारत गए भने त्यसपछि दिनहुँ त्यो संख्या वृद्धि हुँदै गएको छ । असोज .१ गतेदेखि १६ गतेको अवधिमा २ हजार २४३ महिला, १ हजार ८९१ बालबालिका र १२ हजार ३६२ जना पुरुष भारत गएको तथ्यांक छ ।

सो अवधिमा गड्डाचौकी नाका हुँदै २ हजार ५ जना भारत गएका छन् । यो नाकाबाट दैनिक १५० बढी नेपालीहरू भारत गएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको छ । तर भारत जानेको संख्यामा कुनै कमी आएको छैन ।

मन्त्रालयले हालै जारी गरेको सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा–बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा/हाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० थरि कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम प्रदान गर्न लागेको छ । प्रदेश सरकारको सो कार्यक्रमको लागि हालसम्म ४० हजार बढीले इच्छापत्र पेश गरिसकेका जनाइएको छ । कार्यक्रमको लागि मात्रै १५ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमको लागि मात्रै १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको भए पनि भारततर्फ रोजगारीमा जानेको क्रम रोकिएको छैन ।

तपाइको प्रतिक्रिया