निर्मला हत्या प्रकरण को २ वर्षमा पनि हत्यारा पत्ता लागेन

साउन ११, २०७७ आइतबार

काठमाण्डौ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितेको छ । तर अहिलेसम्म न त दोषी पक्राउ परेका छन्, न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ ।

अहिलेसम्म न्याय नपाएको पन्त परिवार प्रहरीको अनुसन्धान कहिले टुङ्गिएला र दोषी पक्राउ पर्ला भन्ने पर्खाइमा नै छ । कञ्चनपुर भीमदत्त-२ की १३ वर्षीया निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।

गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी पन्तको रोशनीको घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । सुरुमा प्रहरीले यो घटनाप्रति अनुसन्धान गर्न समेत चासो नै देखाएन ।

अनि स्थानीयबासिन्दाले आन्दोलन गर्नुपर्यो । हत्यापछि निरन्तर आन्दोलन, धर्ना, दबाबमूलक कार्यक्रम भए । प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका, १८ का सन्नी खुनाको ज्यानै गयो । निर्मलाको हत्यापछि कञ्चनपुरमा ४ जना प्रहरी प्रमुख फेरिएका छन् । तर घटनाको दुई वर्ष भइसक्दा पनि अनुसन्धान जहाँको त्यहीँ छ । तर बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् ।

प्रहरीको एकपछि अर्को कमजोरीले अल्झिएको निर्मला हत्या प्रकरणका अभियुक्त अझै फेला परेका छैनन् । थप अनुसन्धान पनि अगाडि बढ्न सकेको छैन । हत्या प्रकरणको अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोगमा दायर मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ ।

यो मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको मुख्य आरोपित भनिएका दिलीपसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छैन । निर्मलाकी आमा दुर्गादेवीले विष्टविरुद्ध २०७६ माघमा किटानी जाहेरी दिनुभएको थियो । प्रहरीले अनुसन्धान भैरहेको मात्रै भन्ने गरेको तर अपराधीलाई पक्राउ गर्न नसकेको आमा दुर्गादेवीले गुनासो गर्नुभएको छ ।

सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सईहरू रामसिंह धामी र हरसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद विरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । तर उनीहरू धरौटीमा छुटिसकेका छन् ।

निर्मलाको हत्या गरेको भन्दै २०७५ भदौ ४ मा प्रहरीले दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर डिएनए परीक्षणमा विष्टको संलग्नता प्रमाणित नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो । त्यसपछि प्रहरीहरू विरुद्ध नै मुद्दा चलाइएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले यो घटनाको अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया