कैलास खोलामा उर्लिएको बाढिमा परि ६ जनाको मृत्यु ,११ जना बेपत्ता

सुनिल अधिकारी,अछाम ।
२०७७ भदौ ४,रोज ०५

मंगलवार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारमा आएको बाढीले ठूलो जनधनको क्षती गरेको हो।

बाढीमा वेपत्ता भएका १७ जना मध्ये हालसम्म ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए। उनका अनुसार अहिलेसम्म तीन जनाको मात्रै सनाखत भएको छ भने ५ जनाको शव जिल्ला सदरमुकाममा ल्याइएको छ।

११ जना अझै वेपत्ता रहेको बताउँदै उपाध्यायले खोजी कार्य जारी रहेको बताए। वेपत्ताको खोजीका लागि डोटी र कैलाली जिल्लामा समन्वय समेत गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

चार जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको हो।

मृत्यु हुनेमा सैनीबजारका १२ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह र ४८ वर्षीया चन्द्र साउद छन्। अन्य तीन जनाको सनाखत हुन बाँकी छ ।

बाढीले २२ घर बगाएको छ भने ९ वटा झोलुङ्गे पुल र ५ वटा लघु जलविद्युत आयोजनामा क्षति पुगाएको छ। बाढीले चार मोटरसाइकल र एउटा एम्बुलेन्स सहित २ वटा साना गाडी बगाएको छ।

ठूलो संख्यामा पशु चौपाया बगाएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। बाढीमा घाईते भएकी रामारोशन गाउँपालिका वडा नम्वर ७ बाट एक जना सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि सुर्खेतमा लगिएको छ।

प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोगमा थुपै्र व्यक्ति तथा घर परिवारको उद्धार भएको र थुप्रैलाई स्तानान्तरण गरिएको समेत प्रशासनले कन्चन आवाजलाई जनाएको छ।

तपाइको प्रतिक्रिया