नेकपालाई फुट्न नदिने हो भने,राष्ट्र र आफ्नो पार्टीको माया गर्नुपर्छ


शंकर भण्डारी
काठमाडौँ
२४ असार २०७७

नेपाली जनताको अपार समर्थनमा सरकार बनाउन सफल मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा अहिले आन्तरिक संघर्षको भुमरीमा फसेको छ । संसारभरका कम्युनिस्ट आन्दोलनलाई सन्देश दिने गरी जनताबाट बहुमत प्राप्त गरेको नेकपाभित्रको विवादले नेपाली कम्युनिस्ट आन्दोलनकै भविष्यप्रति गम्भीर चिन्ता बढाएको छ । पार्टीमा जारी विवादका कारण नेकपाका कार्यकर्ता र समर्थक मात्रै होइन, नेपालमा स्थिरता र समृद्धि चाहने जो कोही मुलुक कतैै पुनः अस्थिरताको चंगुलमा फस्ने त होइन भन्ने भयले चिन्तित भइरहेका छन् ।

नेकपा पार्टी विभाजनको अवस्था आए अध्यक्ष पद परित्याग गर्नुपर्छ, त्यतिले मात्र नपुगे प्रधानमन्त्री पदसमेत त्याग गर्न पछि पर्न हुँदैन । दुइटै पद परित्याग गरेर पनि नेकपा पार्टीलाई सुदृढ, सबल र नेपालको राम्रो पार्टी बनाउन प्रयास गर्नु उपयुक्त हुन्छ ।

जारी स्थायी समिति बैठकबाट औपचारिक र ठोस निर्णय गर्नुअघि अविश्वास घटाएर पार्टीलाई एकढिक्का बनाउने विषयमा नेताबीचको व्यापक छलफल त चलिरहेका छन्, तर त्यो सकारात्मक दिशामा देखिँदैन । खासगरी पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलगायत बहुमत सचिवालय र स्थायी कमिटी सदस्य, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् भने ओलीले कुनै पद नछाड्ने जिकिर गरिरहेका छन् । विषयवस्तु पेचिलो बन्दै गएपछि दोस्रो तहका नेता, पार्टीलाई फुटबाट जोगाउन लागिपरेका छन् । नेकपामा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिका सन्दर्भमा भुसको आगोझैं फैलिरहेको विवाद समाधान गर्ने उपायबारे यो आलेखमा चर्चा गरिन्छ ।

ओलीको त्याग

कमरेड ओली, नेकपा पार्टीका प्रमुख अभिभावक हुन् । पार्टीका पहिलो अध्यक्ष हुन् । ओलीले आफ्नो कुर्सीरपदभन्दा यो राष्ट्र र आफ्नो पार्टीको माया गर्नुपर्छ । उहाँले नेकपा पार्टी विभाजनको अवस्था आए अध्यक्ष पद परित्याग गर्नुपर्छ, त्यतिले मात्र नपुगे प्रधानमन्त्री पदसमेत त्याग गर्न पछि पर्न हुँदैन । दुइटै पद परित्याग गरेर पनि नेकपा पार्टीलाई सुदृढ, सबल र नेपालको राम्रो पार्टी बनाउन प्रयास गर्नु उपयुक्त हुन्छ । यसरी दुवै पद त्याग गरेर पनि लाखौं कार्यकर्ताको भावनाअनुसार चल्नुभयो भने उहाँ कम्युनिस्ट पार्टीको आदर्श व्यक्तित्वका रूपमा अग्र पंक्तिमा आउनुहुन्छ । तर उहाँले कुनै पद परित्याग गर्नुभएन र त्यसका कारण पार्टी विभाजन हुन पुग्यो भने कम्युनिस्ट आन्दोलनको इतिहासमा उहाँको नाम कलंकका रूपमा रहेनछ । यसर्थ यहाँ नेकपा पार्टीलाई फुटबाट बचाउन निम्न सुझावका लागि पंक्तिकार अनुरोध गर्छ ।

पहिलो सुझाव

कमरेड ओलीले दुई पदमध्ये एउटा छाड्न आवश्यक देखिन्छ । कि उहाँले अध्यक्ष छाड्ने र ५ वर्ष नै प्रधानमन्त्रीमा रहने । पार्टीको अध्यक्ष पदचाहिँ कमरेड प्रचण्ड र माधव नेपाललाई हस्तान्तरण गरी सबै नेताको सम्मान गर्दा उचित होला

दोस्रो सुझाव

अध्यक्ष पनि, प्रधानमन्त्री पनि दुवै त्याग गर्न सकिन्न भने अध्यक्ष ओलीले अहंकार, स्वेच्छाचारी प्रवृत्ति परित्याग गरेर एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाई त्यसमार्फत सरकार चलाउने गरी अगाडि बढ्ने कि जस्तो ः पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको एउटा शक्तिशाली राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन गर्नुभयो भने यो पनि दोस्रो विकल्प बन्न सक्ला कि

तेस्रो सुझाव

कमरेड ओलीले स्थायी कमिटीले जे निर्णय गर्छ, त्यो मान्न तयार छु, पार्टीभन्दा, कमिटीभन्दा ठूलो म होइन, मेरो पद होइन भनेर सकारात्मक तरिकाले सोचेर अगाडि बढे पनि पार्टी फुटको दुर्घटनाबाट बच्न सक्छ । यसो गर्दा स्थायी कमिटीले कमरेड ओलीको उच्च सम्मान पनि गर्छ ।

सामूहिकतामा चल्ने

नेकपालाई फुटबाट जोगाउन सामूहिकताका आधारमा पार्टी तथा सरकार सञ्चालन गर्न जरुरी छ । यसो गर्दा सबै नेताले अपनत्व अनभूति गर्न सक्छन् । व्यक्तिवादी, स्वेच्छाचारी तरिकाले भन्दा सामूहिकताका आधारमा निर्णय गर्दा सबैको भावना, बुद्धि÷विवेक पनि समेटिन्छ । यसरी अध्यक्ष ओली चल्नुभयो भने पार्टीभित्र देखापरेको संकट टर्न सक्छ । तर उहाँले आफ्नो अहंकार छाड्नुभएन भने नेकपाको दुर्घटना कसैले रोक्न सक्दैन ।

मन्त्रिपरिषद् हेरफेर गर्ने

कतिपय मन्त्रीलाई राजीनामा गर्न लगाएर सरकार राम्रोसँग सञ्चालन गर्न सक्ने व्यक्तिलाई मन्त्रिपरिषदमा राख्ने, त्यो पनि सबै नेताको सम्मान हुने गरी । यसो गर्दा पनि एक हदसम्म पार्टीलाई फुटको दुर्घटनाबाट बचाउन सकिन्छ । मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको निर्णयका आधारमा गर्दा झनै राम्रो । मन्त्रीको कार्यक्षमता, योग्यता तथा उसको मन्त्रालयबाट जनताबीच कति राम्रा काम भए भन्ने आधारमा मूल्यांकन गरेर निचोडमा पुग्नुपर्छ । तर मेरो गुटको होस्, मेरो ‘एस् म्यान’ हो भनेर जे गर्दा पनि बचाउ गर्न थालियो भने झनै समस्या आउन सक्छ । तसर्थ मन्त्रिपरिषदमा हेरफेर गर्दा सामूहिक निर्णय गरेर अघि बढियो भने पार्टी फुटको अवस्था टर्न सक्छ ।

पार्टीभित्र शक्ति सन्तुलन

नेकपा चरम संकटमा जानाको कारण विधि, पद्धति, विधानअनुसार शक्ति सन्तुलन नमिलाउनु पनि हो । नेकपा, नेता नै नेता भएको ठूलो पार्टी हो । यो पार्टीमा ४ जना त प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष÷महासचिव भइसकेका नेता छन् । धेरै पुराना, अनुभवी नेताको संख्या पनि कम छैन । त्यसैले पार्टीभित्रको शक्ति सन्तुलनमा ध्यान दिनुपर्ने देखिन्छ । जस्तो केपी ओली पक्षधरबाट मुख्यमन्त्री छन् भने त्यो प्रदेशको पार्टी इन्चार्ज प्रचण्ड वा माधव वा झलनाथ पक्षधरका व्यक्तिलाई बनाइयो भने शक्ति सन्तुलन मिल्न सक्छ । कि त सबै नेताका गुट अन्त्य गरेर विधि÷पद्धतिअनुसार पार्टीका हरेक व्यक्तिलाई जिम्मेवारी दिनुपर्यो, होइन भने शक्ति सन्तुलन मिलाउन जरुरी देखिन्छ ।

सचिवालय विस्तार गर्ने

नेकपामा ९ सदस्यीय सचिवालय गठन भएदेखि नै चरम असन्तुष्टि बढेको थियो । सचिवालय बनाउने क्रममै प्रतिशोधका आधारमा वरिष्ठ नेताको अपमान गर्ने काम गरियो । विधि÷पद्धतिअनुसार होइन, आफूलाई मन परेकालाई सचिवालयमा राख्ने मन नपरेकालाई वरिष्ठ नै भए पनि कनिष्ठको मातहतमा राख्ने कार्य गरियो । तसर्थ कि यो सचिवालय भंग गर्नुपर्छ, होइन भने १७ सदस्यसम्मको सचिवालय बनाएर सबैको सम्मान गर्नु आजको आवश्यकता हो ।

मुख्यमन्त्री फेर्ने

नेकपालाई फुट्नबाट जोगाउन अर्को विकल्प मुख्यमन्त्री फेर्ने पनि हुन सक्छ । किनकि प्रदेश सरकार बनाउँदा आफ्ना ‘एस् म्यान’लाई मात्र मुख्यमन्त्री बनाइयो । न क्षमता हेरियो न वरिष्ठता । यसकारणले पनि नेकपाभित्र चरम संकट उत्पन्न भयो । उदाहरणका लागि प्रदेश नम्बर ३ को मुख्यमन्त्री छनोट गर्दा पार्टीको केन्द्रीय उपाध्यक्ष भइसकेकी नेतृलाई जिल्ला नेतासँग पराजित हुने गरी अपमान गरियो । यसैले अहिलेका केही मुख्यमन्त्रीलाई हटाएर सट्टामा पार्टीभित्रको शक्ति सन्तुलनलाई समेत विचार गर्दै काम गर्न सक्ने ‘भिजन’ भएका नेतालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइयो भने यो पनि एउटा विकल्प हुन सक्छ, पार्टीलाई संकटबाट जोगाउन ।

केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमले हामीले पार्टीलाई यहाँसम्म ल्याइपुर्यायौं, अब हामी अभिभावक भएर बस्छौं, कार्यकारी पदमा बस्दैनौं, तर पार्टीलाई कुनै हालतमा फुटन दिँदैनौ भनेर आफ्ना व्यक्तिगत स्वार्थ परित्याग गरी दोस्रो पुस्ताका नेतालाई जिम्मेवारी सुम्पिने निर्णय गर्नुभयो भने नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँहरूका नाम स्वर्णिम अक्षरले लेखिने छन् ।

राष्ट्रपतिको निष्पक्ष भूमिका

राष्ट्रपति साझा संस्था हो । मर्यादित संस्था हो । यसर्थ राष्ट्रपति, कसैका पक्ष वा विपक्षमा होइन, राष्ट्रको हितलाई ध्यान दिएर संविधानअनुरूप चल्नपर्छ । तर के आरोप लागिरहेको छ भने राष्ट्रपति, केपी ओलीले जे भन्नुहुन्छ, त्यो काम तुरुन्तै गर्दिहाल्नुहुन्छ । तसर्थ नेकपा पार्टीभित्रको आन्तरिक समस्या राष्ट्रपतिसँग जोडिनु दुःखद हो । विद्या भण्डारीका ठाउँमा अहिले अर्का व्यक्ति राष्ट्रपति भएका भए प्रधानमन्त्री ओलीले जे चाह्यो, त्यही निर्णय गर्थेनन् । तसर्थ सम्माननीय राष्ट्रपतिज्यूले निष्पक्ष भूमिकामा बसेर संस्थाको गरिमालाई उच्च राख्न आवश्यक देखिन्छ ।

पहिलो पुस्ताका नेताले त्याग गर्न आवश्यक

केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमले हामीले पार्टीलाई यहाँसम्म ल्याइपुर्यायौं, अब हामी अभिभावक भएर बस्छौं, कार्यकारी पदमा बस्दैनौं, तर पार्टीलाई कुनै हालतमा फुटन दिँदैनौ भनेर आफ्ना व्यक्तिगत स्वार्थ परित्याग गरी दोस्रो पुस्ताका नेतालाई जिम्मेवारी सुम्पिने निर्णय गर्नुभयो भने नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँहरूका नाम स्वर्णिम अक्षरले लेखिने छन् र नेपालको इतिहासमा कम्युनिस्टका नेता महान् रहेछन् भनेर युगौंयुगसम्म नेपाली जनताले सम्झिरहने थिए । योे साहस गर्ने कि नगर्ने रु नेकपालाई फुटबाट जोगाउने हो भने सबैले आआफ्ना स्थानबाट त्याग गर्नैपर्छ ।

लेखक नेकपासम्बद्ध हुन् ।

तपाइको प्रतिक्रिया